नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहलाई लक्षित गर्दै आफ्नै निर्वाचन क्षेत्रमा जनविश्वास गुमाएका नेताहरू नयाँ क्षेत्रको खोजीमा लाग्ने टिप्पणी गरेका छन्। काठमाडौंबाट चुनाव जितिसकेको व्यक्तिले फेरि त्यहीँबाट लड्ने आँट किन नगरेको भन्दै उनले प्रश्न उठाए।
काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफूले काम गर्न नसकेपछि नेताहरूलाई अन्य क्षेत्रमा जानुपर्ने बाध्यता सिर्जना हुने बताए। “आफ्नै जिल्लामा पत्याइँदैन भने त्यहाँ ढाँट्न सकिँदैन,” उनको भनाइ थियो।
झापाको गौरीगञ्जसँग आफ्नो सम्बन्ध वि.सं. २०२६ सालदेखि नै जोडिएको स्मरण गर्दै उनले २०२६ देखि २०२९ सालसम्म त्यहीँ संगठन निर्माणमा सक्रिय रहेको बताए। २०३० सालमा जेल परेपछि केही समय त्यहाँ जान नपाएको र २०४७ सालको अन्त्यतिरदेखि पुनः निरन्तर आवतजावत भइरहेको उनले बताए।
अध्यक्ष ओलीले गौरीगञ्जमा आएको विकासलाई ‘आकाश–जमिनको फरक’ भन्दै विगतको गौरीगञ्ज र अहिले ‘सेल्फी रोड’ का रूपमा परिचित आधुनिक गौरीगञ्जबीच ठूलो परिवर्तन आएको उल्लेख गरे। हुलाकी राजमार्ग आफ्नै पहलमा अघि बढेको दाबी गर्दै उनले कन्काई नदीको एउटा पुलबाहेक अधिकांश पुल तथा सडक संरचना सम्पन्न भइसकेको जानकारी दिए। रतुवा र कमला नदीका पुलमा देखिएका प्राविधिक समस्या समाधानको चरणमा रहेको पनि उनले बताए।
सामाजिक सुरक्षाका विषयमा बोल्दै अध्यक्ष ओलीले आफ्नै नेतृत्वको सरकारले ज्येष्ठ नागरिक भत्ता ४ हजार रुपैयाँसम्म पुर्याएको दाबी गरे। यद्यपि पछिल्लो समयको आर्थिक अवस्था र सरकार परिवर्तनका कारण भत्ता बढाउन नसकिएकोप्रति उनले दुःख व्यक्त गरे।
उनले मधेसी–पहाडी विभाजनको कुरा उठाउने प्रवृत्तिप्रति सचेत गराउँदै सामाजिक न्याय, समानता र सद्भावका आधारमा राष्ट्रिय एकता बलियो बनाउनुपर्नेमा जोड दिए। समाजमा सद्भाव बिथोल्ने कुनै पनि प्रयास स्वीकार्य नहुने उनको भनाइ थियो।








