
काठमाडौं, २९ वैशाख – पछिल्ला तीन दिनदेखि लगातार घट्दै आएको सुनको मूल्यमा आज थप उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) सुनको मूल्य प्रतितोला ३,७०० रुपैयाँले घटेर १,८६,८०० रुपैयाँ पुगेको छ।
हिजो (आइतबार) यो मूल्य १,९०,५०० रुपैयाँ थियो। शुक्रबार सुन प्रतितोला १,४०० रुपैयाँ र आइतबार थप ३०० रुपैयाँ घटेको थियो।
गत साता आइतबारदेखि बिहीबारसम्म सुनको मूल्यमा ७,८०० रुपैयाँको वृद्धि भए पनि त्यसपछि तीन दिन लगातार घट्दा बजारमा ठूलो उतारचढाव देखिएको छ। वैशाख ९ गते सुनको मूल्य हालसम्मकै उच्च १,९७,९०० रुपैयाँ पुगेको थियो, जसपछि ९ दिनभित्रै कुल १४,४०० रुपैयाँको गिरावट आएको हो।
त्यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँ घटेर प्रतितोला १,९६० रुपैयाँ कायम भएको छ।
स्रोत:नेपाल सुनचाँदी व्यवसायी महासंघ