
बैशाख ३० काठमाण्डौ, नेपाली विद्यार्थीहरूका लागि लोकप्रिय गन्तव्य मानिएको दक्षिण कोरियाको लागि अध्ययन अनुमति पत्र (एनओसी) अब अर्को सूचना नआएसम्म वितरण नहुने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न गुनासाहरूका आधारमा एनओसी वितरण अस्थायी रूपमा स्थगित गरेको हो।
कोरियामा अध्ययन गर्न गएका विद्यार्थीहरूले भोग्नु परेको समस्याका कारण कोरियास्थित नेपाली दूतावासमा गुनासा बढेपछि दूतावासमार्फत परराष्ट्र मन्त्रालयलाई जानकारी गराइएको थियो। परराष्ट्र मन्त्रालयले पनि विद्यार्थीहरूका समस्याबारे शिक्षा मन्त्रालयलाई पत्राचार गर्दै समाधानको लागि ध्यानाकर्षण गराएको थियो।
मन्त्रालयका अनुसार पछिल्लो पाँच वर्षमा दक्षिण कोरियाका लागि ३१,९७३ एनओसी जारी भएका छन्। यस वर्ष मात्रै करिब १० हजार एनओसी वितरण गरिएको गोरखापत्रमा उल्लेख छ।