
छिमेकी मुलुक चीन र भारतमा कोरोना संक्रमण दर बढ्न थालेपछि नेपाल सरकारले पनि सावधानी अपनाउन सुरु गरेको छ। भारतको कोरोना वृद्धिले नेपालमा असर पर्न सक्ने विगतको अनुभवले स्वास्थ्य निकायहरूलाई सचेत बनाएको हो।
हालैको परीक्षणमा नेपालमा ७ जना नयाँ संक्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। संक्रमितहरूमा एक जना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट र बाँकी ६ जना काभ्रेपलाञ्चोक जिल्लाका हुन्। सबै संक्रमितको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीहरूको निगरानीमा रहेको छ।
हाल संक्रमितको संख्या कम रहेकाले जीन सिक्वेन्सिङ गरिएको छैन, तर यदि संख्या बढेमा परीक्षण गरिने मन्त्रालय स्रोतले जनाएको छ।
स्वास्थ्य मन्त्रालयले सातै प्रदेशका स्वास्थ्य निर्देशनालयहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ। परीक्षण किटको आपूर्ति र खरिदका लागि आवश्यक तयारी भइरहेको पनि जानकारी गराइएको छ।