राष्ट्रियसभाले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ। सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रस्तुत गरेको प्रस्तावलाई सभासद्हरूले पूर्ण समर्थन गर्दै अनुमोदन गरेका हुन्।

यसअघि ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित विधेयकमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको थियो। छलफलमा सांसद सुरेशकुमार आले मगर, रुक्मिणी कोइराला, तारामान स्वाँर, डा. बेदुराम भुसाल र विष्णुबहादुर विश्वकर्मा सहभागी भएका थिए।
छलफलपछि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री दाहालले, यो विधेयकले आन्तरिक जलमार्गमा पानीजहाज सञ्चालनका लागि कानुनी आधार तयार गर्ने र भविष्यमा समुद्रसम्म पहुँचको सम्भावनालाई समेत अगाडि बढाउने स्पष्ट पार्नुभयो।









