
काठमाडौं — गणतन्त्र दिवस मूल समारोह समिति गठन गर्न सोमबार सिंहदरबारमा आयोजित बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको खोजी गरेका छन्। बैठकमा बालेनको सट्टा उपमेयर सुनिता डंगोल उपस्थित भएकी थिइन्। छलफलका क्रममा प्रधानमन्त्री ओलीले “महत्वपूर्ण कार्यक्रममा महानगरका प्रतिनिधि अनुपस्थित हुनु राम्रो होइन” भन्दै अप्रत्यक्ष रूपमा बालेनप्रति असन्तुष्टि व्यक्त गरे।
प्रधानमन्त्री ओलीले बालेनको नाम नलिए पनि आगामी दिनमा यस्तो अनुपस्थिति नदोहोरियोस् भन्ने चेतावनी दिएका छन्। बैठकमा अनुपस्थित भएपछि प्रधानमन्त्रीले बालेनको नाम गणतन्त्र दिवस मूल समारोह समितिबाट हटाउन निर्देशनसमेत दिएको स्रोतले जनाएको छ।
अघिल्लो वर्ष पनि बालेन गणतन्त्र दिवसको कार्यक्रममा अनुपस्थित थिए। यसपटक पनि अनुपस्थित भएपछि अब समितिमा काठमाडौं मेयरको स्थायी स्थान हटाइने सम्भावना रहेको स्रोतहरू बताउँछन्। नयाँ समितिको संयोजक प्रधानमन्त्री ओली स्वयं रहेका छन् भने उपप्रधानमन्त्री, मन्त्रीहरू, सुरक्षाप्रमुख, सचिवहरू र उपत्यकाका अन्य नगर प्रमुखहरू सदस्य रहेका छन्।