
मनसुन सुरु भएसँगै डेंगु संक्रमणका केसहरू बढ्न थालेका छन्। असारदेखि भदौ (जुन–अगस्ट) सम्मको समयलाई डेंगु संक्रमणको उच्च जोखिम भएको समय मानिन्छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (EDCD) का अनुसार जनवरी १ देखि जुन ८ सम्म देशभर १,२५५ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ। अहिलेसम्म ७२ जिल्लामा संक्रमण फैलिएको छ।
काठमाडौंमा सबैभन्दा धेरै संक्रमित (१३२) भेटिएका छन्। त्यसपछि कास्की (९०), सुनसरी (८७), चितवन (६१), पाल्पा (५१), रुपन्देही (४७), कञ्चनपुर (३७), दाङ (३२) र भक्तपुर (३०) मा डेंगु संक्रमितको संख्या उच्च छ।
EDCD अन्तर्गत कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार डेंगु पूर्ण रूपमा अन्त्य गर्न नसकिए पनि यसको संक्रमण र मृत्यु दर घटाउन सकिनेछ।
उनले जनचेतना, सरसफाइ, सरकारी–गैरसरकारी संस्था र समुदायको सहकार्य आवश्यक रहेको बताए। यस वर्ष मनसुन छिटो सुरु भएकाले संक्रमणको जोखिम अझ बढ्न सक्ने डा. दाहालको भनाइ छ।