काठमाडौँ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले ४५ वर्षअघि नै पार्टी सदस्यता लिएको दाबी गर्दै एमालेको निर्णयप्रति असहमति जनाएकी छिन्। नेकपा एमाले केन्द्रीय कमिटीको बैठकले उनको सदस्यता नवीकरणमा रोक लगाउने निर्णय गरेपछि पहिलो पटक आयोजित पत्रकार सम्मेलनमा उनले तीव्र प्रतिक्रिया दिएकी हुन्।
भण्डारीले भनिन्, “म राष्ट्रपति हुँदा नै पार्टी सदस्य बनेको ३५ वर्ष पूरा भइसकेको थियो, अहिले ४५ वर्ष पुगिसक्यो। यस्तो अवस्थामा मलाई सदस्यता नवीकरणबाट रोक्नु कुनै हालतमा उचित हुँदैन।”
उनले एमालेको निर्णयलाई “अवैध र अपरिपक्व” भन्दै आलोचना गरिन्। उनका अनुसार यस्ता निर्णयहरूले पार्टीको साख र प्रतिष्ठामा गम्भीर आँच पुर्याउने खतरा छ।
“आवेग र उत्तेजनामा गरिएका निर्णयहरूले सत्यलाई केही समयका लागि ओझेलमा पार्न सक्छन्, तर ती निर्णयले वास्तविकता लुकाउन सक्दैनन्,” भण्डारीले भनिन्। साथै, उनले विवेकसहित छलफलमार्फत निर्णय गर्नुपर्नेमा जोड दिइन्।
भण्डारीले आफू कुनै भावनामा बगेर कुरा नगरेको स्पष्ट पार्दै भनिन्, “यो पार्टी बनाउन हजारौँ कार्यकर्ताको रगत र पसिना बगाइएको छ। यो मेरो भावनाको आवेगमा गरिएको प्रतिक्रिया होइन।”
उनले पार्टी निर्माणमा लागेका जनताको त्याग, जनवादी केन्द्रीयताको सिद्धान्त र जबज (जनताको बहुदलीय जनवाद) को मर्मविपरीत यस्ता निर्णय लिइएको भन्दै पुनर्विचारको माग गरेकी छिन्।