
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीको झुटो प्रलोभन देखाई ठगी गर्ने दुई व्यक्तिलाई पक्राउ गरेको छ। उनीहरूले बेरोजगार युवायुवतीलाई आकर्षक तलब र विदेश पठाइदिने निहुँमा ठगी गरी सम्पर्कविहीन भएका थिए। पीडितहरूको उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा कपिलवस्तु शिवराज नगरपालिका–५ की ३५ वर्षीया दीपा शर्मा र झापा भद्रपुर नगरपालिका–४ का २७ वर्षीय बृजेश सुवेदी रहेका छन्। अनुसन्धान अनुसार, शर्माले क्यानडामा रोजगारीको झुटो आश्वासन दिई एक पीडितसँग २३ लाख ५० हजार रुपैयाँ ठगी गरेकी थिइन् भने सुवेदीले युके पठाइदिने भन्दै अर्को पीडितसँग २ लाख ५० हजार ठगी गरेका थिए।
शर्मालाई बूढानीलकण्ठ नगरपालिका–११ बाट र सुवेदीलाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। शर्मासम्बन्धी मुद्दा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकालीमा र सुवेदीको मुद्दा वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको छ।