‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ भन्ने नारासहितको पहिलो सगरमाथा संवाद आजदेखि काठमाडौंको सोल्टी होटलमा सुरु भएको छ। विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभयो।
चार दिनसम्म चल्ने यो अन्तर्राष्ट्रिय संवाद आगामी दिनमा प्रत्येक दुई वर्षमा आयोजना गर्ने सरकारको योजना छ। सगरमाथा संवाद आयोजना गर्ने घोषणा प्रधानमन्त्री ओलीले पुस ८ गते गर्नुभएको थियो, जसलाई मन्त्रिपरिषद्को माघ २१ गतेको बैठकले अनुमोदन गरेको हो। फागुन ६ गतेको बैठकबाट संवादको अवधारणापत्र स्वीकृत गर्दै सचिवालय पनि स्थापना गरिएको थियो।
परराष्ट्र मन्त्रालयका अनुसार, संवादमा करिब ४० देशका १५० भन्दा बढी विदेशी प्रतिनिधिहरूको सहभागिता रहेको छ। सहभागीमध्ये उच्च राजनीतिक प्रतिनिधि, विदेशमन्त्री, वातावरणसम्बन्धी मन्त्रीहरू, सरकारी अधिकारी, दातृ संस्थाका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधि, शिक्षाविद् तथा जलवायु विज्ञहरू सहभागी छन्।









