
बुटवल– किरण विकले रूपन्देही–३ बाट उम्मेदवारी घोषणा
राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत किरण विकले रूपन्देही क्षेत्र नं. ३ बाट आगामी उपनिर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन्। ३१ वर्षीय विकले आफू पछिल्ला ११ वर्षदेखि राजनीति, फिल्म निर्माण र लेखनको माध्यमबाट रूपन्देही र काठमाडौंमा सक्रिय रहँदै आएको बताएका छन्।
उनले जनआन्दोलन, गणतन्त्र, धर्मनिरपेक्षता स्थापनाजस्ता ऐतिहासिक आन्दोलनहरूमा आफ्नो तर्फबाट योगदान रहेको उल्लेख गर्दै भने, “म मेरो उम्मेदवारी केवल पुराना नेताहरुलाई विस्थापन गर्न होइन, नयाँ पुस्तामा सुधार ल्याउन पनि हो।”
विकले आफू उदार लोकतान्त्रिक विचारधारामा विश्वास गर्ने, खुला समाजका पक्षपाती रहेको र महिला, मधेसी, जनजाति, मुस्लिम, दलित, थारू, अपाङ्ग तथा अन्य अल्पसंख्यक र सीमान्तकृत समुदायप्रति प्रतिवद्ध रहेको बताएका छन्।
भैरहवालाई क्रिप्टो भ्याली, आर्थिक केन्द्र, अन्तर्राष्ट्रिय मनोरञ्जन तथा पर्यटन नगरीको रूपमा विकास गर्ने योजना उनले अघि सारेका छन्। साथै, लुम्बिनी महानगरको अवधारणालाई कार्यान्वयन गर्दै व्यवस्थित सहरीकरण गर्ने उनको प्रतिबद्धता छ।
उनले रूपन्देही–३ लाई नेपालको शैक्षिक हब बनाउने, सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने तथा स्वास्थ्य क्षेत्रमा बढ्दो निजीकरण र व्यावसायीकरणको अन्त्यको पहल भैरहवाबाट गर्ने योजना प्रस्तुत गरेका छन्।
गएको मंसिर ४, २०७९ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक बोहरा निर्वाचित भएका थिए। बोहराको निधनपछि खाली भएको सिटमा यही कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ।