बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले बिहीबार सम्पन्न बंगलादेशको आम निर्वाचनमा स्पष्ट बहुमत हासिल गरेको छ। २९९ सदस्यीय संसद्मा बीएनपीले १६५ सिट जित्दै सरकार गठनको मार्ग सुरक्षित गरेको हो। यससँगै पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तथा बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको छ।
दुई निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका रहमानले दुवै स्थानबाट विजय हासिल गरेका छन्। १७ वर्षसम्म बेलायतमा निर्वासित जीवन बिताएका उनी गत वर्ष डिसेम्बरमा स्वदेश फर्किएका थिए। स्वदेश फर्किएपछि उनले पार्टी पुनर्गठन गर्दै चुनावी अभियानलाई तीव्र बनाएका थिए।
यसअघि सन् १९९१ देखि २०२४ सम्म आलोपालो सत्ता सम्हाल्दै आएकी तत्कालीन प्रधानमन्त्री शेख हसिना भारत पलायन गरेकी थिइन्। पूर्वप्रधानमन्त्री खालिदा जियाको निधनपछि बंगलादेशमा पहिलोपटक संसदीय चुनाव सम्पन्न भएको हो।
निर्वाचन परिणामअनुसार जमात-ए-इस्लामीको नेतृत्वमा रहेको ११ दलीय गठबन्धनले ४५ सिट जितेको छ। जमात प्रमुख सिफुकर रहमानले ढाका–१५ बाट विजय हासिल गरेका छन्। अन्य दल तथा स्वतन्त्र उम्मेदवारहरूले तीन सिटमा सफलता हात पारेका छन्।
करिब ३५ वर्षपछि बंगलादेशले नयाँ प्रधानमन्त्री पाउने निश्चित भएसँगै सत्ता समीकरणमा ठूलो परिवर्तन आएको विश्लेषण गरिएको छ। अब बीएनपी नेतृत्वको सरकारले राजनीतिक स्थायित्व, आर्थिक सुधार र क्षेत्रीय सम्बन्ध सन्तुलनमा कस्तो भूमिका खेल्छ भन्ने विषयमा चासो बढेको छ।








