नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रुकुमपूर्वमा ३०औँ जनयुद्ध दिवस मनाउँदै छ। जनयुद्धको सुरुआत भएको रुकुमपूर्वमै सहिद तथा बेपत्ता परिवार, घाइते, अपाङ्ग र स्थानीय रुकुमेली नागरिकसँग कार्यक्रम मनाउन पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार साँझ रुकुमपूर्व पुगेका छन्।
विसं २०५२ फागुन १ गते तत्कालीन नेकपा (माओवादी)ले सुरु गरेको जनयुद्ध दश वर्षसम्म चलेको थियो। जनयुद्धका प्रमुख नेता प्रचण्ड पहिलोपटक रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउन पुगेका हुन्। सङ्घीयतापछि गठन भएको कान्छो जिल्ला रुकुमपूर्व जनयुद्धको महत्वपूर्ण आधार इलाकाका रूपमा चिनिन्छ। सोही जिल्लाबाट प्रचण्ड प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत छन्।
भूमे गाउँपालिका–२ खाबाङ बगरमा आज आयोजना हुने कार्यक्रममा सहिद परिवारलाई सम्मान गर्ने कार्यक्रम रहेको नेकपा रुकुमपूर्वले जनाएको छ। रुकुमपूर्वमा जनयुद्धका क्रममा २५२ जना सहिद भएका छन्।
रुकुम: क्रान्ति र शान्तिको थालनीस्थल
राजतन्त्रको अन्त्य र नयाँ जनवादी व्यवस्था स्थापना गर्ने उद्देश्यसहित २०५२ फागुन १ गते जनयुद्ध सुरु गरिएको थियो। रुकुमको आठबीसकोट प्रहरी चौकी, रोल्पाको होलरी, सिन्धुलीगढी र गोरखाको च्याङ्लीस्थित कृषि विकास बैंकमा आक्रमण गर्दै सशस्त्र आन्दोलनको थालनी गरिएको थियो।
जनयुद्धका क्रममा रुकुम (पूर्व र पश्चिम) तथा रोल्पालाई आधार इलाका बनाइएको थियो। २०५३ वैशाख २३ मा छेरावाङमा एम्बुस आक्रमण, २०५४ माघ १६ मा क्युवाङमा थ्रीनट राइफल कब्जा, २०५६ असोज ५ मा महतमा आक्रमण गरी प्रहरी नायब उपरीक्षक ठूले राईलाई नियन्त्रणमा लिएको घटना तथा २०५७ चैतमा रुकुमकोट चौकी पूर्ण कब्जा जस्ता घटनाहरू जनयुद्धका महत्वपूर्ण मोडका रूपमा लिइन्छन्।
२०६१ माघमा लावाङमा बसेको माओवादी पोलिटब्यूरो बैठक र २०६२ असोजमा चुनवाङमा सम्पन्न केन्द्रीय समिति बैठकले लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा पारित गर्दै शान्तिपूर्ण राजनीतिक यात्राको बाटो तय गरेको थियो। त्यसपछि सात राजनीतिक दलबीच १२ बुँदे सहमति भई जनआन्दोलनसँगको संयोजनबाट राजतन्त्रको अन्त्य, गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको प्रणाली स्थापना भएको थियो।
जनयुद्ध दिवस मनाउनुअघि प्रचण्डले महतगाउँ र लावाङगाउँको भ्रमण गर्ने तथा स्थानीयसँग जनभेटघाट गर्ने कार्यक्रम रहेको छ। उनी आजै चुनवाङ पुग्ने कार्यक्रमसमेत तय भएको छ।








