
शिक्षक महासंघको आन्दोलनका कारण ९ दिन ढिलो भएको विद्यालय तहको अन्तिम कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ। जेठ २ गतेसम्म सञ्चालन हुने परीक्षा साधारण र प्राविधिक दुवै विषय समूहमा हुने छ, जसमा नियमित र आंशिक गरी कुल ५,११,५२५ विद्यार्थी सहभागी हुँदैछन्।
परीक्षामा ५,२२० विद्यालयका ३,९५,९०८ नियमित परीक्षार्थी छन्, जसमा १,९८,८७५ छात्र र १,९७,०१३ छात्रा छन्। आंशिकतर्फ १,१५,६१७ विद्यार्थी सहभागी छन्। मनाङ जिल्लाबाट सबैभन्दा कम ४५ र काठमाडौंबाट सबैभन्दा बढी ६८,१३३ परीक्षार्थी छन्।
देशभर १,५९० परीक्षा केन्द्र र जापानमा १ गरी कुल १,५९१ केन्द्र तोकिएको छ। सबैभन्दा बढी काठमाडौंमा १६२ र मनाङ तथा मुस्ताङमा १/१ परीक्षा केन्द्र छन्। परीक्षा सुव्यवस्थित बनाउन ४८,००० जनशक्ति खटाइएको छ, जसमा केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, सहयोगी र सुरक्षाकर्मी समावेश छन्।
परीक्षा स्वच्छ र अनुशासित बनाउने उद्देश्यले बोर्डले सबै पक्षलाई सहयोगको आग्रह गरेको छ। प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ।
स्रोत: राष्ट्रिय परीक्षा बोर्ड, नेपाल