काठमाडौं । गैर-दलीय व्यावसायिक तथा विभिन्न क्षेत्रका नयाँ अनुहारहरूद्वारा स्थापित राजनीतिक दलले छोटो समयमै प्रतिनिधिसभामा दुई-तिहाइ नजिकको बहुमत हासिल गर्नु र विश्वकै कान्छो प्रधानमन्त्री निर्वाचित गराउनु नेपालको राजनीतिक इतिहासकै असाधारण घटनामध्ये एक मानिएको छ। यही कारण नेपालमा भइरहेको राजनीतिक परिवर्तन र देशको भावी दिशाबारे अन्तर्राष्ट्रिय समुदायको चासो बढ्दै गएको छ।
विशेषगरी नेपालसँग लामो खुला सीमा जोडिएको छिमेकी भारतमा यो चासो अझ गहिरो रहेको उल्लेख गरिएको छ। नेपालको पछिल्लो राजनीतिक रूपान्तरण हिंसा, सैन्य हस्तक्षेप, विदेशी दबाब वा संवैधानिक संकटबाट नभई लोकतान्त्रिक प्रक्रियामार्फत भएको ‘मतपेटिकाको क्रान्ति’ को परिणाम भएको दाबी गरिएको छ।
विश्वका धेरै मुलुकहरू राजनीतिक ध्रुवीकरण, भ्रष्टाचार र शासनप्रतिको अविश्वाससँग जुधिरहेका बेला नेपालले लोकतान्त्रिक प्रक्रियामार्फत परिवर्तन सम्भव रहेको सन्देश दिएको बताइएको छ। नयाँ नेतृत्वले सुशासन, पारदर्शिता, जवाफदेहिता र विकासलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई नेपालको नयाँ राजनीतिक यथार्थका रूपमा प्रस्तुत गर्दै यसले वर्षौँदेखि स्थापित राजनीतिक संरचनालाई चुनौती दिएको उल्लेख गरिएको छ। युवापुस्तालाई परिणाममुखी राजनीतिमा आकर्षित गर्दै देशलाई नयाँ दिशामा लैजान खोजिएको दाबी गरिएको छ।
रास्वपाले प्राप्त गरेको जनमत आक्रोश र आशा दुवैको मिश्रण भएको तथा परिवर्तनका पक्षमा नेपाली जनताले दिएको ऐतिहासिक जनादेश भएको उल्लेख गरिएको छ। पार्टीले युवा, सक्षम, समावेशी र स्वच्छ छविका व्यक्तिहरूलाई नेतृत्वमा ल्याउन सफल भएको दाबी गरेको छ।
साथै, नयाँ नेतृत्वले नेपालको परराष्ट्र नीतिलाई पनि नयाँ ढंगले अघि बढाउने संकेत गरेको छ। विगतका राजनीतिक बोझ, शत्रुता र पूर्वाग्रहबाट मुक्त भएर राष्ट्रिय हित केन्द्रित कूटनीतिक सम्बन्ध विस्तार गर्ने लक्ष्य राखिएको उल्लेख गरिएको छ।









