बुटवल । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच लुम्बिनी प्रदेश सरकारमा सत्ता सहकार्य गर्ने सहमति भएपछि नेपाली कांग्रेस सरकारबाट बाहिरिने तयारीमा पुगेको छ।
कांग्रेसबाट सरकारमा सहभागी शहरी विकास तथा खानेपानीमन्त्री सरोज थापा (रोज राणा) ले आइतबार नै कांग्रेसका मन्त्रीहरूले राजीनामा दिने तयारी भइरहेको जानकारी दिएका छन्।
उनका अनुसार एमाले र नेकपाबीच सरकार सञ्चालनबारे सहमति भइसकेकाले कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको हो। उनले सकेसम्म आइतबार बेलुकासम्म, नभए सोमबारसम्म मन्त्रीहरूले राजीनामा बुझाउने र समर्थन फिर्ता लिने प्रक्रिया पूरा हुने बताएका छन्।
हाल लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट शहरी विकास तथा खानेपानीमन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सेना तथा वन तथा वातावरण मन्त्री देवकरण कलवार सहभागी छन्।
एमाले–नेकपा सहकार्यपछि लुम्बिनी प्रदेशको सत्ता समीकरणमा महत्वपूर्ण परिवर्तन आउने देखिएको छ। कांग्रेस बाहिरिएसँगै प्रदेश सरकारको नयाँ संरचना र जिम्मेवारी बाँडफाँटबारे चासो बढेको छ।









