
काठमाडौं महानगरपालिकाले आज शोक बिदा दिएको छ। पञ्चायतकालका पूर्वउपप्रमुख तीर्थराम डंगोलको निधन भएको शोकमा महानगरपालिकाले शोक बिदा घोषणा गरेको हो।
महानगरपालिकाले एक सूचना जारी गर्दै अत्यावश्यक सेवाबाहेक महानगर र मातहतका सबै कार्यालयहरूमा शोक बिदा रहने जानकारी दिएको छ।नेपाली कांग्रेसका नेता र पूर्वस्वास्थ्य राज्यमन्त्री रहेका तीर्थराम डंगोलको शुक्रबार राति ७७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको थियो।
डंगोलको शनिबार नेवारी परम्परा अनुसार अन्त्येष्टि गरिएको छ। उनी लामो समयदेखि प्रोस्टेट क्यान्सर र मिर्गौला सम्बन्धी समस्याबाट पीडित थिए। उनले विसं २०६२/६३ को प्रतिगमनविरुद्धको जनआन्दोलनमा काठमाडौंमा नेतृत्व गरेका थिए। डंगोल विसं २०५६ र २०६५ मा प्रतिनिधि सभाका सदस्य पनि थिए।