इरानका सभामुख मोहम्मद बागेर कालिबाफले अमेरिकाले इरानमाथि जमिनबाट आक्रमण गर्ने गोप्य योजना बनाइरहेको दाबी गरेका छन्। सरकारी समाचार एजेन्सी ‘इर्ना’ मार्फत जारी बयानमा उनले अमेरिका बाहिरबाट कूटनीति र वार्ताको कुरा गरे पनि भित्रभित्रै सैन्य तयारी गरिरहेको आरोप लगाए।
कालिबाफले कडा चेतावनी दिँदै इरानी सेना अमेरिकी फौज र उसका क्षेत्रीय सहयोगीलाई कडा जवाफ दिन तयार रहेको बताएका छन्। उनले देश “महासंकटको घडी” मा रहेको उल्लेख गर्दै नागरिकहरूलाई एकजुट हुन आह्वान पनि गरेका छन्।
यसबीच अमेरिकी पत्रिका ‘वासिङ्टन पोस्ट’ ले पेन्टागनले केही हप्तादेखि इरानमा सम्भावित ‘ग्राउन्ड अफेन्सिभ’ को योजना बनाइरहेको जनाएको छ। यद्यपि, राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी युद्धमा सेना नपठाउने आफ्नो अडानका कारण अन्तिम निर्णय अन्योलमा रहेको बताइएको छ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने हालै अमेरिकाले हवाई हमलाबाटै आफ्नो लक्ष्य हासिल गर्न सक्ने भन्दै जमिनमा सेना पठाउन आवश्यक नभएको बताएका थिए। तर पछिल्ला हप्ताहरूमा एसियाबाट हजारौँ अमेरिकी सैनिक र ‘८२औँ एयरबोर्न डिभिजन’ का प्याराट्रुपरहरू मध्यपूर्वमा तैनाथ गरिनुले क्षेत्रीय तनाव बढ्दै गएको संकेत दिएको छ।
सामरिक विश्लेषकहरूका अनुसार इरानको करिब ९० प्रतिशत तेल निर्यात हुने मुख्य केन्द्र ‘खर्ग टापु’ सम्भावित निशाना बन्न सक्छ।








