ऋषि धमलाले आम जनता पार्टीको तर्फबाट रौतहट क्षेत्र नम्बर–४ का लागि आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेका छन्। विगत ३५ वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आएका धमलाले अबको समय रौतहट–४ का जनताको सेवामा समर्पित गर्ने प्रतिबद्धता जनाएका छन्।
“रौतहट–४ को उन्नति र प्रगति नै मेरो सपना हो। विश्वास गर्नुहोस्, ऋषि धमलाले कहिल्यै धोका दिने छैन,” उनले बताएका छन्। घरदैलो अभियानका क्रममा केही समस्याको तत्काल समाधान तथा केहीको उद्धार गरेको दाबी गर्दै उनले आफ्नो सम्पर्क सञ्जाल र अनुभव रौतहटको विकासमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
मुख्य नाराहरू:
- ‘रौतहट चार धमलाका बार’
- ‘हर घर मिले रोजगार’
- ‘छोरी पढाउ, समाजलाई संस्कारी बनाउ’
- ‘विद्यालय जाऔं, अशिक्षा भगाऔं’
- ‘स्वस्थ समाज, सबल नागरिक’
प्राथमिकताका क्षेत्रहरू:
१. शिक्षा:
गरिबीका कारण विद्यालय छाड्ने अवस्था अन्त्य गर्ने, विषयगत शिक्षकको अभाव हटाउने, प्रविधिमैत्री शिक्षा विस्तार गर्ने र जेहेन्दार तथा गरिब विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने।
२. रोजगारी र गरिबी न्यूनीकरण:
‘हर घर मिले रोजगार’ अभियानमार्फत व्यावसायिक कृषि, महिला स्वरोजगार, साना उद्योग स्थापना र युवालाई स्टार्टअप अनुदान तथा सहुलियत ऋणका लागि पहल गर्ने।
३. स्वास्थ्य:
रौतहट–४ मा स्तरीय अस्पताल स्थापना गर्ने, स्वास्थ्य चौकीलाई दक्ष जनशक्तिसहित प्रभावकारी बनाउने।
४. खानेपानी:
‘हरेक घरमा एक धारा’ कार्यक्रम लागू गर्दै आर्सेनिक पानीको समस्या समाधान गर्ने।
५. कृषि तथा सिंचाइ:
सुनकोशी–मरिन डाइभर्सन आयोजना शीघ्र सम्पन्न गर्न पहल गर्ने, बागमती र चाँदी खोलाको सिंचाइ व्यवस्थापन सुधार गर्ने।
६. चुरे संरक्षण र वातावरण:
मधेशको मलिलो माटो जोगाउन चुरे संरक्षणमा विशेष ध्यान दिने।
७. पर्यटन र खेलकुद:
धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलको विकास गर्ने तथा महिला फुटबल, क्रिकेटलगायत खेलकुद पूर्वाधार सुदृढ गर्ने।
धमलाले मधेशसँग आफ्नो पुरानो सम्बन्ध रहेको उल्लेख गर्दै रौतहट–४ को समग्र विकासका लागि समर्पित हुने प्रतिवद्धता दोहोर्याएका छन्।








